प्राधिकरणमै तास खेल्छन् कर्मचारी

Posted on: 04 Nov, 2018

कात्तिक १८, भक्तपुर (रासस) | नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । 

नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । 

तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ । 

शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । 

प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले कर्मचारीले के गर्छन् भन्नेबारेमा जानकारी नभएको बताउनुभयो । 

शाखामा विद्युत्को मिटर लिन, मिटर जडान गर्नदेखि खम्बा सार्नसमेत कर्मचारीले पैसा माग्ने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।  

- फाइल फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!