सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री

Posted on: 08 Nov, 2018

कात्तिक २२, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । 

तिहारको अवसरमा आज एक शुभकामना सन्देश दिंदै उहाँले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।” 

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । यसै उद्देश्यका लागि केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थायित्व कायम भइसकेको बताउनुभएको छ । 

“सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ, “हामीसँग सक्रिय जनसङ्ख्याको बाहुल्यता छ । यस अनुकूलताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउँदैछौँ ।” 

समृद्धिको प्रतीक लक्ष्मीपूजा र तिहारको अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!