दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उडान

Posted on: 08 Nov, 2018

कात्तिक २२, जुम्ला (रासस) | दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । 

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताउनुभयो । 

जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेका छन् उहाँले भन्नुभयो । जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेका थिए । प्रमुख शर्माले भन्नुभयो, “जहाज उडाउनुभन्दा अघि जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो ।” 

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो । 

- फाइल फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!