नुवाकोटमा राहदानी बनाउनेको सङ्ख्या बढ्यो

Posted on: 13 Nov, 2018

कात्तिक २७, विदुर | नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । 

राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विदेश जाने युवा राहदानी बनाउन आउने क्रम बढेको बताउनुभयो । नयाँ आर्थिक वर्ष शुरु भएदेखि कात्तिकको तेस्रो हप्तासम्मको विवरणअनुसार जिल्लामै राहदानी बनाउनेको सङ्ख्या एक हजार ५३४ र सिफारिश लिएर जाने ८६२ गरी जम्मा दुई हजार ३९६ राहदानी बनेको छ । कार्यालयका अनुसार गत वर्ष चार हजार ९६९ वटा राहदानी जिल्लामै बनेको थियो । सिफारिश एक हजार ८८४ गरी जम्मा छ हजार ८५३ वटा राहदानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!