प्रदेश नं ५: दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को ६ सय ६२ घाइते

Posted on: 15 Nov, 2018

कात्तिक २९, दाङ | प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् । 

घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो । 

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन् । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ । 

सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिनुभयो । 

त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!