मदिराका कारण घरेलु हिंसा बढ्दो

Posted on: 16 Nov, 2018

नरेन्द्रसिंह कार्की | कात्तिक ३०, दार्चुला | नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन, दिनहुँ मदिरामा लट्ठिएर गालीगलौज गर्ने, कुटपिट गर्ने, आफूले कमाएको रकमसमेत मागेर मदिरा सेवन गरी आउन थालेपछि यहाँ न्याय माग्न पुगेको हुँ’’ उहाँले भन्नुभयो । 

नौगाड गाउँपालिकाबाट हाल सदरमुकाम खलङ्गामा मजदुरी गर्दै बसेका दुवै जनाबीच मदिराका कारण झैझगडा हुन थालेपछि न्याय माग्न आएको उहाँले बताउनुभयो । घरमा तीन छोरा र दुई छोरी छन् । ‘‘छोराछोरी कसरी पढाउने चिन्ता छैन मदिराले घरबार उजाड बनायो’’ उहाँको भनाइ थियो ।

यो त उदाहरण मात्रै हो, दार्चुलामा पछिल्लो समय मदिराका कारण कैयौँको घरबार बिग्रिएको छ भने मदिराले घरेलु हिंसा, महिला हिंसा तथा ज्यानै गएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा ३२ वटा घरेलु हिंसाका घटना घटेका छन् । अधिकांश घटना मदिराका कारण भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताउनुभयो । 

इन्सेकले जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरेको घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठी गर्दै जिल्लामा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको हो । घरेलु हिंसाको कारक भनेकै मदिरा भएको इन्सकेको ठम्याइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!