मन्त्रीद्धारा भैरव सामुदायिक वनको प्रशंसा

Posted on: 16 Nov, 2018

कात्तिक ३०, सुर्खेत | वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका साथै जडिबुटी र पर्यटन विकासको कामबाट कर्णाली प्रदेशका वन मन्त्री नन्दसिंह बुढाले प्रशंसा गरेका छन् । शुक्रवार सम्पन्न वनको १९ औं साधारणसभामा पुगेका भैरम सामुदायिक वन प्रदेशकै नमूना भएको टिप्पणी समेत गरेका छन् ।

उनले वन संरक्षणका साथै जडिबुटी उत्पादन र पर्यटन विकासको क्षेत्रमा समेत काम गरेका कारण प्रदेशकै नमूना भएको जनाए । उनले यस्ता वनहरुलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले विपन्न, महिला, दलित, जनजातिको जीवनस्तर उकास्ने योजनाहरु पनि ल्याउन सुझाव दिइन् । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीले भैरम सामुदायिक वन जिल्ला तथा प्रदेशमै उत्कृष्ट भएको बताए । उनले कामहरु उत्कृष्ट गरेकोले मुलुकभरका उत्कृष्ट वनहरुमा भैरम सामुदायिक वनलाई पनि सिफारिस गरिने जानकारी दिए । जडिबुटी र पर्यटनको क्षेत्रमा समेत सो वनले काम गरेको हुँदा अन्य वन समूहका लागि पनि उदाहरणीय भएको उनको भनाइ छ । 

वन समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले वन समूहले वन संरक्षण गर्नुका साथै जडिबुटी उत्पादन र पर्यटन विकासको कामलाई प्राथमिकता दिएको र आगामी दिनमा ती कार्यलाई निरन्तरतासमेत जनाए । सभामा कोषाध्यक्ष देवीप्रसाद खनालले करिव एक करोडको आयव्यय प्रस्तुत गरेका थिए । सभामा सामुदायिक वन उपभोक्ता महासंघका नगर अध्यक्ष रतिमान सिंह, वडा नं. ४ का वडा सदस्य कृष्ण गौतम लगायतले शुभकामना दिएका थिए । सो सभाबाट वनको नयाँ कार्यसमिति पनि चयन गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!