नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न

Posted on: 17 Nov, 2018

मङ्सिर १, काठमाडौँ | नेपाल एनिमल साइन्स एसोशिएसन (नासा) को आठौँ राष्ट्रिय महाधिवेशनले पशुपंक्षी र मत्स्य विज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरी उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन नासाको तर्फबाट महत्वपूर्ण योगदान दिने सङ्कल्पसहित ललितपुर घोषणापत्र जारी गरेको छ । 

महाधिवेशनको प्राविधिक सत्रमा पशुपंक्षी तथा मत्स्य अनुसन्धान र विकाससम्बन्धी ४७ वटा प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । महाधिवेशनमा महासचिव रुद्रप्रसाद पौडेलले नासाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामवली साहले आर्थिक प्रतिवेदन र विधान संसोधन समितिका संयोजक रामगोपाल आचार्यले विधान संशोधनका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा पशुपंक्षी तथा मत्स्यविज्ञान प्राध्यापन, अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सेवानिवृत्त प्राध्यापकहरु, बैज्ञानिकहरु, अनुसन्धाताहरु, उद्योगीहरु र उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान गरिएको थियो । 

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नासाको विज्ञता र यसले गरेका घोषणा र निर्णयहरु नेपालको पशुपंक्षी र मत्स्यपालन क्षेत्रलाई समेटी राष्ट्रिय किसान आयोगले बनाउने नीतिलाई महत्वपूर्ण मार्गदर्शक हुने बताउनुभयो । 

यसैबीच भेलाले नासाको आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा डा. श्रीराम प्रसाद नेउपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन समेत गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रुद्रप्रसाद पौडेल र डा. निराजन भट्टराई, महासचिवमा डा. लोकनाथ पौडेल, सचिवमा मेघराज ढकाल र सुजया उपे्रती, कोषाध्यक्षमा श्यामसुन्दर यादव र सदस्यहरुमा सूर्यप्रसाद शर्मा, लुमानिधी पाण्डे, राजेन्द्रप्रसाद श्रेष्ठ, गौरी थापा र सुवासकमल झा निर्वाचित हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!