राष्ट्रिय परिचय पत्र वितरण पाँचथरबाट सुरु हुँदै

Posted on: 19 Nov, 2018

कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ ।

सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने योजना तय गरेको थियो । आज जिल्ला समन्वय समितिको शहिदमञ्चमा विशेष कार्यक्रमको आयोजना गरी गृहमन्त्रि राम बहादुर थापा‘बादल’ले परिचयपत्र वितरणको सुभारम्भ गर्ने बताइएको छ ।

   कार्यक्रमका लागी गृहमन्त्रि थापा सहित १ नम्बर प्रदेशका मुख्यमन्त्रि शेरधन राई,आर्थिक मामीला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बो‘मौसम’,गृह सचिव प्रेम कुमार राई,सांसद लगायत उच्चपदस्थ अधिकारीको सहभागीता रहने बताइएकोे छ । परिचय वितरणका लागी सम्पुर्ण तयारी पुरा भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । आज वितरण गरिने पहिलो पत्र फिदिम – ४ की १०१ बर्षिय जेष्ठ नागरिक भगवतीदेवी भण्डारीले पाउने भएकी छिन् । आजबाट आम नेपालीले पाउने राष्ट्रिय परिचयपत्र आजको दिन ५० जनाले पाउने छन् । परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ ।

   अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन सकिएको प्रजिअ अधिकारीले बताउनुभयो । गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्त दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!