बैतडीमा एसएमएसबाटै प्रसूति सेवा

Posted on: 20 Nov, 2018

विनोदसिंह विष्ट |मङ्सिर ४, बैतडी | जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । 

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताउनुभयो । 

पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताउनुभयो । 

सुरक्षित सुत्केरी सेवा लिने बढे 

बैतडीमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यहाँका धेरै महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । पहिलेपहिले घरमै सुत्केरी हुने महिला आजभोलि सुत्केरी हुन स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने नागरिकमा चेतनाको विस्तार हुँदा महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन पुग्ने गरेका छन् । 

सरकारले स्वास्थ्य संस्थामा गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक जाँच गराउँदा रु ८०० र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा रु दुई हजार भत्ता दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्ने महिलाको सङ्ख्या बढेको देहीमाडौँ स्वास्थ्यचौकीकी अनमी बोहराले बताउनुभयो । साउन महीनाबाट अहिलेसम्म २८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । 

यस्तै पछिल्लो समय केही कारणवश घरमै सुत्केरी भइहाले पनि सुत्केरी आमा स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । सुत्केरी भएको २४ घण्टामा स्वास्थ्य संस्थामा पुगेपछि पनि सुत्केरी आमाले सुत्केरी भत्ता पाउने गरेका छन् । साथै बोहोराले आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेमा जोड दिइएको बताउनुभयो । 

गर्भवतीको तथ्याङ्क मोबाइलबाटै 

मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन् । 

महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाका लागि सजिलो भएको छ । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्यामा वृद्धि नभए पनि मोबाइलबाटै नाम दर्ता गराउनेको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलबाटै दर्ता गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको र स्थानीय तहले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ । 

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम दर्ता गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा नाम दर्ता हुने र गर्भवती महिलालाई ४, ६, ८ र ९ महीनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले जानकारी दिनुभयो । 

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिनुभयो । मोबाइलमार्फत एसएमएस जान थालेपछि पहिला स्वास्थ्य संस्थामा नआउने पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!