तनहुँमा डेङ्गुका चार बिरामी भेटिए

Posted on: 20 Nov, 2018

मङ्सिर ४, दमौली | तनहुँको भीमादमा डेङ्गुका चार बिरामी भेटिएका छन् । नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भएको हो । 

डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ हुनुहुन्छ । भीमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो । उहाँहरु तीनै जना भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरा हुनुहुन्छ । 

भीमादकै अर्का एक जनालाई पनि डेङ्गु भएको भए पनि उहाँको नाम भने खुल्न सकेको छैन । बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किनुभएको छ भने सरोजको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था सुधारोन्मुख छ । 

भीमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको कारण सोही लामखुट्टेले टोकेर खनालत्रयलाई डेङ्गु भएको आशङ्का गरिएको छ । भीमादमा दोस्रो भीमाद महोत्सव आयोजना भएको र रमाइलो मेलाका साथै विभिन्न सामग्री बाहिरबाट आयात गरिँदा ती सामानसँगै डेङ्गु सार्ने लामखुट्टे पनि आएको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले भने डेङ्गुका बिरामी भेटिएको बारेमा अनभिज्ञता 

प्रकट गरेको छ । कार्यालय प्रमुख डा सुनिल पौडेलले यस बारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । 

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । 

तीन वर्षमा १९ हजार पटक डायलाइसिस 

तनहुँको दमौली अस्पतालमा स्थापना गरिएको शत्रुघन मञ्जु डायलाइसिस केन्द्रले तीन वर्षको अवधिमा १८ हजार ५०० पटक डायलाइसिस सेवा प्रवाह गरेको छ । 

२०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा १९० मिर्गौला पीडितलाई त्यति सङ्ख्यामा डायलाइसिस सेवा प्रवाह गरेको हो । केन्द्रमा हाल ७५ मिर्गौला पीडितले नियमितरूपमा निःशुल्क डायलाइसिस सेवा लिइरहेको केन्द्रका लेखापाल शैलेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा हाल छ जनाले हप्ताको तीन पटक, एक जनाले हप्ताको एक पटक र ६८ जनाले हप्ताको दुई पटक डायलाइसिस सेवा लिने गरेका छन् । 

केन्द्रमा तनहुँका साथै कास्की, लमजुङ, गोरखा र स्याङ्जा जिल्लाका मिर्गौला पीडितले समेत डायलाइसिस गराइरहेका छन् । केन्द्रमा एकै पटक नौ जनाले डायलाइसिस सेवा लिनसक्छन् । केन्द्रमा दैनिक २४–२५ जना मिर्गौला पीडितले सेवा लिइरहेको पण्डितले बताउनुभयो । 

लेखापाल पण्डितका अनुसार डायलाइसिस केन्द्रमा बिरामीको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ । डायलाइसिसका लागि अस्पतालमा नाम टिपाउन आउने मिर्गौला पीडितलाई सिट नहुँदा फिर्ता पठाउनुपर्ने समस्या रहेको उहाँले बताउनुभयो । 

भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै केन्द्र स्थापना भएपछि डायलाइसिस सेवाका लागि सहज भएको बताउनुभयो । उहाँले तीन वर्ष अगाडि चितवन मेडिकल कलेजमा डायलाइसिस गराइरहनुभएको थियो । उहाँले भन्नुभयो, “आफ्नै जिल्लामा सेवा लिन पाउँदा समयसँगै खर्चको पनि बचत हुने गरेको छ ।” लमजुङ जिल्ला दूधपोखरी गाउँपालिका–५ निवासी कमानसिंह गुरुङले समेत तीन वर्षदेखि दमौली अस्पतालबाटै डायलाइसिस सेवा लिइरहेको बताउनुभयो । 

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ वटा डायलाइसिस उपकरण रहेको थियो । हाल तीन वटा उपकरण थप गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!