आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण, परम्परागत प्रथालाई चिर्दै महिला

Posted on: 25 Nov, 2018

मङ्सिर ९, तुलसीपुर (रासस) | यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो । 

कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले प्रशिक्षण दिनुभएको थियो । लागुऔषध केलाई भन्ने, लागुऔषध सेवन गरेका व्यक्ति थाहा पाउने उपाय, घर समाजमा लागुऔषध दुव्र्यसनी पस्नै नदिने उपाय तथा लागुऔषध दुव्र्यसनीमा फसिसकेकालाई उपचारात्मक अभ्यासका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

उहाँले लागुऔषध दुव्र्यसनीमा माया, दया, प्रेम र अर्काको बारेमा सोच्ने अनुभूतिलाई नै समाप्त पार्ने बताउंदै दुव्र्यसनीमा निर्णय गर्ने शक्ति नै गुमाइसकेको हुने उल्लेख गर्नुभयो । पछिल्लो समयमा रक्सी सबैभन्दा डरलाग्दो दुव्र्यसन भएको उल्लेख गर्दै गाँजा, अफिम, निद्रा लाग्ने औषधि, एलर्जीका औषधि, दुखाइ कम गर्ने औषधि, खोकीका औषधि तथा डिप्रेशनका औषधि पनि लागुऔषध भएको उल्लेख गर्दै यसमा सचेत रहन आमाहरुलाई सुझाव दिनुभयो । 

परम्परागत प्रथालाई चिर्दै महिला 

यहाँका महिलाले रुढिबादी परम्परागत मलामी जान हुन्न भन्ने प्रथालाई चिर्दै गएका छन् । कुनै समय महिला मानिसको मृत्यु भयो भने दाहसंस्कारमा सामेल नहुने र पुरुष मात्र सहभागी हुने जिल्लामा चलन थियो । 

महिला धर्मकाठ लिएर मलामी नजाने र पुरुष मात्र मृत्युपछिको संस्कारमा सहभागी हुने चलन थियो । तर आजभोलि भने महिला मलामी जाने र र दाहसंस्कार कार्यमा लागि धर्मकाठ बोकेर जानेको सङ्ख्या धेरै देखिएको छ । कहीँकतै महिला मृत्युपछिको संस्कारमा सहभागी हुनुहुन्न भन्ने बन्देज नभए पनि पुरानो चलन भने मलामी जान हुन्न भन्ने रहेको स्थानीय समाजसेवी कृष्ण गिरीले बताउनुभयो । तर हाल विस्तारै महिलाको पनि पुरुष सरह नै समान सहभागिता हुने गरेको देखिएको छ । 

धेरैजसो पुरुष विदेशमा हुने र महिला पनि रुढिबादी परम्परालाई चिर्दै गएका कारण आजभोलि धेरैजसो महिला मलामी जाने गरेको स्थानीयवासी महिला रुपकली वलीले बताउनुभयो । 

विस्तारै महिलामा जागरुकता र चेतनाको विकासले गर्दा जन्म, मृत्यु लगायतका सामाजिक कार्यमा सहभागिता बढ्दै गएको महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । ‘‘यो पहिले महिलालाई गरिएको विभेद् मात्र हो, महिला कमजोर हुन्छन्, भनेर विभेद्का कारण यस्तो रुढिबादी कुरा गरिएको हो,’’ गिरीले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!