श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै

Posted on: 25 Nov, 2018

मङ्सिर ९, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् । 

बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्लोपटक मङ्सिर लागेपछि चिसो बढेसँगै दिनहुँजसो २५/३० सङ्ख्याको हाराहारीमा जाँचका लागि आउने नयाँ बिरामीमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले जानकारी दिनुभयो । 

खासगरी धूमपानको लत भएका महिला, चिसो बढेसँगै राम्रो सम्भार नपाएका ५० वर्ष उमेर कटेकामा श्वासप्रश्वासको समस्या भेटिने गरेको बर्दिवास अस्पतालले जनाएको छ । जताततै लगातार उड्ने धूलो, धुँवाबाट बचेर हिँड्ने स्वास्थ्य सजगता नअपनाउँदा, मौसमअनुसार खानपान, लवाइ र अन्य आहार व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वासका थप बिरामी बढ्दै गएका बर्दिवास अस्पतालकै मेडिकल सुपरिटेण्डेन्ट डा विधानचन्द्र झा बताउनुहुन्छ । 

यसैगरी बर्दिवास आँखा अस्पतालका सञ्चालक मुकुन्दप्रसाद पौडेलले मङ्सिर लागिकन आँखाका बिरामी निकै बढेका बताउनुभएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । 

जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लास्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको जलेश्वर जिल्ला अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउनुहुन्छ । यस्तो स्वास्थ्य समस्या दलित र गरीबको झुपरबस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको झाको भनाइ छ । 

चिसो बढेसँगै धूलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहार व्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सकको भनाइ छ । “घरबाट निस्कनासाथ जताततै धूलो उडिरहेको देखिन्छ तर आम नागरिक मास्क लगाउने गर्दैनन्” बर्दिवास अस्पतालका मेसु डा झाले भन्नुभयो, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” 

चिकित्सक र स्वास्थ्यकर्मीले श्वासप्रश्वासबाट बच्न स्वस्थ्य आहार व्यवहार अपनाउन बताइरहेका बेला जिल्लाका अगुवा सामाजिक कार्यकत्र्ता र वुद्धिजीवीले भने सडकमा उड्ने धूलो सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । जिल्लाका मुख्य सडक बर्दिवास, जलेश्वर, भिठ्ठामोर, जलेश्वर, जनकपुर, बर्दिवास, रौजा, जलेश्वर, गौशाला, सम्सी, रामगोपालपुर, लोहारपट्टी–जनकपुर र जलेश्वर, मनरा, सम्सीलगायतका सबै सडक खाल्डाखुल्डी बनेका र यी सडकमा चल्ने सवारीसाधनले उडाउने धूलोले स्वास्थ्य समस्यासँगै दैनिक काम व्यवहार पनि नराम्ररी प्रभावित पार्दै आएको जिल्लाका सामाजिक कार्यकर्ता गौरी मण्डल बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!