सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल

Posted on: 26 Nov, 2018

मङ्सिर १०, राजविराज | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक छात्र गरी छ जनालाई पुरस्कार वितरण गरिएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । 

गाउँपालिकामा नै सर्वाधिक अङ्क ल्याएका लक्ष्मीबल्भ नरसिंह माध्यमिक विद्यालयका छात्र ओमप्रकाश साह र छात्रा इतिसा अधिकारीलाई एक थान ल्यापटप र एक थान साइकल दिनुका साथै प्रमाणपत्र दिई सम्मान गरिएको थियो । 

यस्तै जनता मावि तोपाका रञ्जन यादव र रविराज सिंह र जनता मावि लौनिया तिलाठीका निभाकुमारी झा र देवेन्द्रकुमार खंगलाई पनि एक थान साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको स्थानीयवासी सिंहले बताउनुभयो । 

साथै जनता मावि तोपाका शिक्षिका ललिता झालाई अतिरिक्त माध्यमबाट शिक्षणमा सहयोग गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!