एक हप्तादेखि बेपत्ता पूर्व गाविस उपाध्यक्ष मृत फेला

Posted on: 29 Nov, 2018

मङ्सिर १३, दमौली | तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो 

नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् ।स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उहाँको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

युवा मृत फेला 

यसैगरी तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङ निवासी १८ वर्षीय तीर्थबहादुर भुजेल रुखमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । घरदेखि ३ किमी दूरीमा रहेको जङ्गलमा उहाँ झुण्डिएको अवस्थामा फेला परेको र सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!