तीन महिनाभित्रै भीमदत्त नगर फोहर मुक्त हुन्छ: सरसफाई अभियन्ता मानव

Posted on: 29 Nov, 2018

मङ्सिर १३, महेन्द्रनगर | विश्व सरसफाई अभियन्ता राजमान मानवले भीमदत्त नगरपालिकालाई तीन महिनामा फोहर मुक्त बनाउन सकिने बताएका छन् । भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको सरसफाई सम्बन्धी छलफल कार्यक्रममा सरसफाई अभियन्ता मानवले जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी, स्थानीय सबैको सहयोगले तीन महिनामै नगरपालिकालाई सफा र स्वच्छ बनाउन सकिने बताएका हुन् ।

भीमदत्त नगरपालिकामा नगर प्रमुख, उप नगर प्रमुख सहित सबै वडामा वडा अध्यक्ष सहित ५÷५ जनाको जनप्रतिनिधिको टीम छ, यो टीमले सबैसित सहकार्य र समन्वय गरी जाँदा तीन महिनाभित्र नगरपालिका सफा र स्वच्छ हुन्छ’ सरसफाई अभियन्ता मानवले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अगुवाईमा सञ्चालन गरिएको बृहत जनचेतना मुलक सरसफाई कार्यक्रममा विश्व सरसफाई अभियन्ता मानव र सुशिला महर्जन गत महिनादेखि सक्रिय सहभागी भएका छन् । 

हरेक शनिबार सञ्चालन गरिने सरसफाई अभियान बाहेक उनीहरु दैनिक नगरका विभिन्न क्षेत्रमा सरसफाई गर्दै आएका छन् ।

आगामी शनिबार हुने बृहत सरसफाई कार्यक्रम सम्बन्धी छलफलका लागि सरसफाई अभियन्ताद्वय मानव र महर्जनको उपस्थितमा कार्यक्रम गरिएको हो । शनिबार भीनपा वडा नं. ४ र १८ मा बृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

विश्व सरसफाई अभियन्ता मानवले नगरका सबै टोलमा फोहरको समस्या देखिएकाले सबैले एकजुट भएर लाग्नु पर्ने आवश्यकता औंल्याए ।

‘अन्य एकाध टोल त सफा हुन्छ, यहाँ त त्यस्तो छैन, त्यसैले सबै टोललाई सबै नगर वासिन्दा सहभागी गरी सरसफाई अभियान चलाउन आवश्यक छ’ उनले भने,‘त्यसका लागि तपाई हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयो  गर्न आवश्यक छ ।’


आफू बस्ने टोल सफा गर्ने हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनले फोहर नफालेर सफा सहर बनाउनु पर्ने अभियान चलाउनु पर्नेमा सरसफाई अभियन्ता मानवले जोड दिए ।

कार्यक्रममा धुमपान निषेधका अभियन्ता मदन बहादुर चन्दले भीमदत्त नगरलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियानमा सबैको साथ हुने बताए । 

‘अहिलेसम्म सरसफाई अभियान सञ्चालन गर्दै आएका छौ, त्यसमा सबैको साथ र सहयोग पाएका छौ’ उनले भने,‘नगरलाई सफा र स्वच्छ बनाउने अभियानमा पूर्ण रुपमा सहयोग गर्छौ ।’

सर्वपक्षीय बैठकले भीनपा वडा नं. ४ र १८ मा सबैले आ–आफ्नो टोल सफा गर्न आव्हान गर्दै शनिबार बृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको छ । सरसफाई अभियानमा आमा समूह, जनप्रतिनिधि, उद्यमी व्यवसायी, स्थानीय सबै सहभागी हुने धुमपान निषेधका अभियन्ता चन्दले बताए ।

छलफल कार्यक्रममा सहभागीहरुले नगरपालिकाका सबै वडामा सरसफाई कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । भीमदत्त नगरपालिकाले सबै वडालाई लक्षित गरी महेन्द्रनगर बजारबाट सरसफाई अभियान सुरु गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!