भीमदत्त र अमरगढी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

Posted on: 30 Nov, 2018

मंसिर १४, महेन्द्रनगर | भीमदत्त नगरपालिका र अमरगढी नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा दुबै नगरपालिकाका नगर प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

नगरपालिका सभा कक्षमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा (विपिन) ले समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् । 


दुबै नगरपालिकाले धार्मिक साँस्कृतिक पर्यटन प्रवद्र्धन, आपशी अनुभव आदानप्रदान लगायतका सहकार्य गर्न सम्झौता गरिएको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा र अमरगढी नगथरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कविन्द्र भट्टको रोहबरमा गरिएको सम्झौतामा ९ खण्ड छन् । भीमदत्त नगरपालिका नगर प्रमुख विष्टले भीमदत्त नगरको समृद्धका लागि व्यक्ति, संस्थासित सहकार्य गर्ने नीति अनुसार अमरगढी नगरपालिकासित पर्यटन प्रवद्र्धन, आपशी अनुभन आदानप्रदान लगायतका विषयमा समझदारी गरिएको बताए । ‘भीनपाको समृद्धि सुदूरपश्चिम प्रदेश र नेपालको समृद्धिसित जोडिएको छ, पहिलो नगर सभाबाट व्यक्ति, संस्थासित सहकार्य गरी जाने नीति अनुसार अमरगढीसित समझदारी गरिएको छ, अन्य नगरपालिकासित पनि सहकार्य गरी जान्छौ’ उनले भने ।

नगर प्रमुख विष्टले पश्चिमको प्रवेशद्वार भएको भीमदत्त नगरपालिका र गोर्खालीको इतिहास समेटिएको अमरगढी किल्ला लगाययतका पर्यटकीय, धार्मिक स्थल र साँस्कृतिक सम्पदा संरक्षण प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ‘दुबै नगरपालिकामा धार्मिक र पर्यटकीय स्थल छन्, तिनको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरी आर्थिक समृद्धि ल्याउन सकिन्छ’ नगर प्रमुख विष्टले भने,‘त्यसका लागि सबै क्षेत्रको सहयोग र साथ आवश्यक छ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिने उल्लेख गर्दै नगर प्रमुख विष्टले सुदूरपश्चिम प्रदेशको पर्यटन सुधारका लागि आन्तरिक र बाह्य दुबै समस्याको समाधान गरिनु पर्नेमा जोड दिए । ‘त्यसका लागि दुबै नगरपालिका विशेष अभियान सञ्चालन गरी जान्छौ’ उनले भने । अमरगढी नगरपालिकाका नगर प्रमुख ओझाले दुबै नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने र अनुभव आदानप्रदान लगायतका कार्यक्रम गरिने बताए । ‘दुबै नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ’ नगर प्रमुख ओझाले भने,‘समझदारीका आधारमा कार्यक्रम गरी जान्छौ ।’ राजनीतिक परिवर्तनपछि देश नयाँ संरचनामा गएको उल्लेख गर्दै नगर प्रमुख ओझाले सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाल नारा पूरा गर्न सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । ‘त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौ, त्यसमा तीनै तहका सरकारको भूमिका हुन्छ ।’ दुबै नगरपालिकाको समझदारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने नगर प्रमुख ओझाले बताए । 

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, प्रशासकीय अधिकृत हरि सिह धामी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय श्याम भट्ट र उत्तर विष्ट, भीनपाका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी भएका छन् । ९ खण्डको समझदारी पत्रको पहिलो खण्डमा उद्देश्य, दोस्रोमा समझदारी पत्रको कानुनी हैसियत, तेस्रोमा कार्यक्षेत्र, चौथोमा र्शत, पाँचौमा समझदारी कार्यान्वययनका लागि स्रोतको व्यवस्था, छैठौमा कार्यदल सम्बन्धी व्यवस्था, सातौमा संशोधन, आठौंमा विवाद व्यवस्थापन र नवौ खण्डमा समझदारीको समय तोकिएको छ । समझदारी हस्ताक्षर भएको मितिदेखि निरन्तर रुपमा लागू हुने उल्लेख गरिएको छ । भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि सिह धामीले समझदारी पत्र वाचन गरेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टले अमरगढीका नगर प्रमुख ओझा, पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट सहितलाई खादा ओढाएर सम्मान गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!