निर्मलाको फोटोसहितको तस्बिर टाँस्ने ९ महिलासहित १२ जना माइतीघरबाट पक्राउ

Posted on: 30 Nov, 2018

मङ्सिर १४, काठमाडौं । कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै निर्मलासहितको तस्बिर टाँस्न खोज्ने १२ जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो माइतीघर मण्डलामा निर्मलाको तस्बिरसहितको पोष्टर टाँस्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा ३ जना पुरुष र बाँकी सबै महिला रहेका छन् । अभियनकर्ता प्रितम सुवेदी, सिर्जना विश्वकर्मा, भुवन राउत, सौरभ न्यौपाने, छवि पंगेनी, अशिना बराल, स्मृति श्रेष्ठ, दर्शन चन्द, देवीश्री पन्तलगायतलाई प्रहरीले पक्राउ गरेको हो । 

यसअघि मुलुकमा सरकार कहाँ छ ? भन्दै आलोचना भएको थियो । सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रत्येक बिजुलीका पोलमा आफ्नो तस्बिरसहितको डिजिटल पोस्टर राख्न निर्देशन दिँदै जता हेर्‍यो त्यतै सरकार भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यसको दोस्रो दिन दिन बुधबार केही युवाहरुले सरकारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसेका थिए । तर, बिहीबार यस कामको समर्थन गर्दै सरकारको व्यापक आलोचना भएपछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले उक्त पोस्टरहरु हटाएको हो ।

प्रहरीले उक्त तस्बिरहरु हटाएपनि शुक्रबार फेरि विद्यार्थी तथा सामाजिक अभियन्ताहरुले पोस्टर टाँस्न थालेका थिए । त्यसलाई चुनौती दिँदै अभियानकर्ता सिर्जना विश्कर्माका अनुसार निर्मला पन्तको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लेखिएको ब्यानर बिजुलीको पोलमा टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । 

बिजुलीको पोलमा पन्तको तस्बिर टाँस्न खोज्दा पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्तको हिरासतमा लगिएको छ । उनीहरुलाई कसैलाई भेटघाट गर्न दिइएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!