गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ

Posted on: 02 Dec, 2018

मङ्सिर १६, बेनी (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 

नेकपाका प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताउनुभयो । “मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ”, गुरुङले भन्नुभयो । 

गण्डकी प्रदेशभित्र यो वर्ष ३०० पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ थियो । 

पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उहाँले बताउनुभयो । 

उहाँले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको जानकारी दिनुभयो । जलस्रोतमार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा पाँच हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!