खाना खाएर हात धुन निस्किएका बालकमाथि चितुवाको आक्रमण, बालकको मृत्यु

Posted on: 02 Dec, 2018

मङ्सिर १६, दमौली (रासस) | चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । 

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए । उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो । 

चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ । 

भानुमा चितुवाको त्रास बढ्यो 

भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताउनुभयो । 

कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ । 

त्यस्तै मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!