१६८ परिवारलाई राहत सहयोग

Posted on: 02 Dec, 2018

मङ्सिर १६, बाजुरा (रासस) | बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो । 

‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो । सहयोगस्वरुप प्रतिपरिवारलाई २५ किलोका दरले चामल र १६८ ब्ल्याङ्केट सहयोग गरिएको वडाध्यक्ष सुरेन्द्र नाथले बताउनुभएको छ । 

पहिरोबाट प्रभावित पाउनु ओली, कलकबहादुर सिंह, जगबहादुर सिंह, गोरखबहादुर सिंह, बृखबहादुर सिंह, कलबहादुर सिंहलगायत १६८ परिवारलाई २५ किलोका दरले चामल र एक÷एक वटा ब्ल्याङ्केट सहयोग गरिएको सस्थाका अध्यक्ष भत्तराज जोशीले बताउनुभयो । 

बडिमालिकामा पहिलो पटक नगर शिक्षक 

बाजुराको बडिमालिका नगरपालिकाले जिल्लामै पहिलोपटक नगर क्षेत्रका विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने भएको छ । नगरपालिकाबाटै सुविधा दिने गरी नगर शिक्षकको व्यवस्था गरेर सामुदायिक विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने कार्यपालिकाले निर्णय गरेको छ । 

सङ्घीय सरकारका दरबन्दी अपुग रहेको विद्यालयमा नगरपालिकाले तलब सुविधा दिने गरी नगर स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । बडिमालिका नगरपालिकामा रहेका २५ विद्यालयमा हाल राहत अनुदान, साँवा, स्थायी गरी १३१ सङ्घीय सरकारको दरबन्दीमा रहेका शिक्षक कार्यरत छन् । 

हाल नगरपालिका क्षेत्रमा शैक्षिक उपलब्धि दर ४० प्रतिशत मात्र रहेको छ । थपिएका ४७ जनाको दरबन्दीमा पनि स्थानीयलाई र विषयगत शिक्षकलाई पहिलो प्राथमिकता दिने नगरपालिकाले निर्णय गरेको छ । नगरले राख्ने शिक्षकलाई रु १७ हजार ५०० देखि २२ हजारसम्म सुविधा दिने निर्णय गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!