तुलसीपुर उपमहानगरको विकट वडामा मोटरबाटो पुग्यो

Posted on: 03 Dec, 2018

मङ्सिर १७, दाङ | तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ । 

यसअघि त्यहाँ बाटो नहुँदा बिरामी तथा सुत्केरीलाई बोकेर उपचार गराउन तुलसीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको थियो । समयमा ल्याउन नसक्दा कतिको त अकालमा नै मृत्यु हुने गरेको थियो । 

यसैबीच सो कृषि सडकको आइतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागेको बताउनुभयो । 

पहिलोपटक आफूहरु मोटर बाटोको पहुँचमा पुग्न सकेको भन्दै त्यहाँका स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । उनीहरुले अब विद्युत्को व्यवस्था गरीदिन पनि नगरप्रमुख पाण्डेलाई अनुरोध गरेका छन् । 

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटर उत्तर दक्षिणमा रहेको साँझवासमा बाटो नहुँदा त्यहाँका जनताले निकै दुःख खेप्नुपरेको थियो । त्यसैगरी त्यहाँ उत्पादन भएको कृषिउपजले पनि बजार पाउन सकेको थिए । उपमहानगरपालिका भए पनि अझै पनि त्यहाँका नागरिक विकासका पूर्वाधारबाट वञ्चित रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!