नेपाली भूमिमा सडक बनाउन भारतीय सुरक्षाकर्मीद्वारा रोक

Posted on: 04 Dec, 2018

मङ्सिर १८, कञ्चनपुर (रासस) | भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । 

गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । 

“चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो । 

नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर रोकेकाले कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । “सडक स्तरोन्नतिको काम अगाडि बढाउनका लागि भारतीय पक्षसँग समन्वयको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो । 

प्रजिअ तारानाथ अधिकारीले नेपाली भूमिमा सडक निर्माण भइरहेको भए भारतीय पक्षले रोक्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय समकक्षीसँग समन्वय गरेर समस्याको निकास निकालिने छ ।” सीमास्तम्भ अद्यावधिक नहुँदा सीमा विवाद आउने गरेकाले सम्बद्ध पक्ष बसेर निकास निकालिने उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!