बैतडीको जिल्ला अस्पताल नर्सविहीन हुँदा प्रसूति सेवा प्रभावित

Posted on: 05 Dec, 2018

मङ्सिर १९, बैतडी | एक महीनादेखि नर्स नहँुदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हँुदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । 

अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्सको आवश्यकता पर्छ । “गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको छ,” उहाँले भन्नुभयो । जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको छ । “शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ,” उहाँले भन्नुभयो । जटिल खालका बिरामी आउँदा उपचार गर्न गाह्रो भएको उहाँको भनाइ छ । 

डा विष्ट अस्पतालमा नभएको बेला अल्ट्रासाउण्ड सेवा ठप्प हुन्छ । अल्ट्रासाउण्ड गर्ने तालीमप्राप्त नर्सको सरुवा भएपछि सेवा प्रभावित भएको हो । जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ । हाल एक जना मात्र कार्यरत छन् । अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राहीसमेत आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ । 

चिकित्सक र नर्सको अभावमा यहाँका बिरामी उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ । स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारी अभाव छ । “सामान्य बिरामीले पनि उपचार गर्न भारत जानु परिरहेको छ,” दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भन्नुभयो, “स्थानीस्तरमा भएका स्वास्थ्य चौकीको स्तरोन्नति गरी दरबन्दीअनुसारका चिकित्सक र नर्स पूर्ति गर्नुपर्छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!