निर्मला हत्यामा आशालाग्दो मोड: रावलको डीएनए नेगेटिभ आए के हुन्छ ?

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाडौँ | चार महिनादेखि हरेक दिन चर्चाको बिषय बनेको निर्मला हत्या प्रकरणले बुधबारदेखि आशालाग्दो मोड लिएको छ । बुधबार काठमाडौँबाट सिआईबीले एक जनालाई पक्राउ गरेको मिडियामा आए पनि आधिकारिकता पुष्टि भएको छैन । प्रहरी स्रोतलेनै निर्मला हत्या प्रकरणमा संलग्न भएको बयान समेत दिईसकेको र डीएनए परिक्षणको लागि पठाइएको भन्ने सूचना लिक गरिसकेको अवस्थामा भित्रभित्रै प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन निकै मेहनत गरिरहेको छ भन्न सकिने आधारहरु जुटेका छन् । 

आजै अन्नपूर्ण पोष्ट अनलाइनले स्रोतलाई हवाला दिंदै निर्मला हत्या प्रकरणमा संलग्नता रहेको छिमेकी प्रदिप रावलले स्वीकार गरेको बिषयमा समाचार अपडेट गरेको छ । बिभिन्न समाचार अनुसार प्रहरीले हत्यामा संलग्नताको आशंकामा मंगलबार साँझ निर्मलाका छिमेकी प्रदीप रावललाई काठमाडौंबाट पक्राउ गरेको थियो । काठमाडौंमै राखेर रावलमाथि अनुसन्धान भइरहेको छ भने उनको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । 

समाचार अनुसार रावल अभियुक्त हुन् वा होइनन् भन्ने कुराको एकिन गर्न प्रहरीले रावलको डीएनए रिपोर्ट शुक्रबारसम्म कुर्दैछ । यस अघि पक्राउ गरिएकाहरुको रिपोर्टहरु नेगेटिभ आएको हुनाले प्रहरी आफै पनि आशंकित छ । प्रहरीले हत्याराको निकट पुगिसकेको दावी गरेको अवस्था र सुरक्षा निकायकै केहि व्यक्तिहरु समेत अनुसन्धानमा तानिने बताइएको अवस्थामा प्रहरीले पर्ख र हेरको अवस्थामा देखिन्छ । यदी रावलको डीएनए रिपोर्ट पोजेटिभ देखिए प्रहरीको लागि सबैभन्दा महत्वपूर्ण सफलता मिल्नेछ । 

बुधबार राति १० बजेदेखि राति २ बजेसम्म रावलको बयानको क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको बताइदै गर्दा रावलको बयानलाई नै आधार मानेर थप अनुसन्धानमा रहेको बुझिएको छ । बयानकै आधारमा अन्यलाई पनि कन्चनपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याईएको बताइएको छ । प्रहरीले क-कसलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ कुनै जानकारी दिएको छैन । रावलकै बयानलाई आधार मानेर प्रहरीले अरु संलग्न भएका भनिएकाहरुको पनि डीएनए परिक्षण गर्न सक्नेछ । 

प्रहरीले बुधबार पक्राउ गरेको प्रदिप रावलको पृष्ठभूमि आपराधिक प्रकृतिकै रहेको बुझिएको छ । घटनापछि रावल सम्पर्कमा थिएनन् । उनका आफन्तले भारतमा छन् भनेपनि उनि काठमाडौंमै पक्राउ पर्नुले पनि उनीमाथि थप आशंका गरिएको छ । त्यसो त नजिकैका छिमेकी ४ महिनासम्म बेपत्ता रहंदा पनि किन शंका वा अनुसन्धानको दायरा आएनन् भन्ने पनि प्रश्न उठेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!