हतियार र लागुऔषधसहित दुई जना पक्राउ

Posted on: 08 Dec, 2018

मङ्सिर २२, लहान | हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका–१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको छ । 

सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका–३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै रातो कलरको अपाची मोटरसाइकलमा सवार दुईजना व्यक्तिले आफ्नो साथमा भएको नगद रु सात लाख लुटपाट गरेको सूचना कामैतले प्रहरीले दिएको थियो । 

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा कामैतको उक्त रकम आफ्ना साथी एवं नातेदारलाई राख्न दिएको र केही रकम निज स्वयंले साथमा राखेको खुल्न आएपछि उहाँलाई पक्राउ गरिएको जिप्रकामा प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

पक्राउ परेका कामैतमाथि झुठा अफवाह फैलाएको कसुरमा कारवाही चलाइएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!