ज्योतिष कार्यालयका लागि भूमिदान

Posted on: 08 Dec, 2018

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्द्रगरमा नेपाल ज्योतिष परिषद्को कार्यालय स्थापनाका लागि भूमिदान गरिएको छ । परिषद्को प्रथम महाधिवेशनमा सुर्खेतका ज्योतिष मधुप्रसाद कौडीले भूमिदान गरेका हुन् ।


ज्योतिष कौडीले दिएको जमिनमा परिषद्को भवन निर्माण गरिनेछ । देशका ७७ वटै जिल्लाहरुमा परिषद्को शाखा विस्तार गरिएको नेपाल ज्योतिष् परिषद्का केन्द्रीय सचिव लक्ष्मी पन्थीले जानकारी दिए । उनका अनुसार सबै शाखाहरुमा करिव एकहजार पाँचसय आजिवन सदस्य र १० हजार साधारण सदस्य छन् । उनले ज्योतिष पेशालाई व्यवस्थित र मर्यादित बनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरे । ज्योतिष पेशा व्यवस्थित भए नाशाकोभन्दा बढी तथ्यमुलक प्रमाणहरु संकलन गर्नमा सहज हुने भएकाले सरकारलाई सहयोगको अपिल गरे । नेपाल पञ्चाङ्ग निर्णायक समिति हाल केन्द्रमा मात्र रहेकाले निकट भविष्यमै प्रादेशिक कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको सचिव पन्थीको भनाई छ ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ज्योतिष  विज्ञान र खगोल शास्त्रको कुरा गर्दा हाम्रा पूर्खाहरु नासाका वैज्ञानिक भन्दा शक्तिशाली रहेको दावी गरे । उनले ज्योतिष कामलाई वैज्ञानिक, व्यवहारिक र जनमुखी बनाउनतर्फ लाग्न सुझाव दिए । स्थानिय सरकारकोतर्फबाट ज्योतिष परिषद्लाई सहयोग गर्ने वचन सुवेदीले दिए । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश संयोजक डा.गौरीशंकर शर्माले कर्णाली प्रदेशमा नेपाली भाषा र ज्योतिष भाषाको उदय भएकाले ज्योतिषमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!