काठमाडौँमा आगलागीमा परी एकको मृत्यु

Posted on: 08 Dec, 2018

मङ्सिर २२, काठमाडौं | आगलागीमा परी काठमाडौँमा एक जनाको मृत्यु भएको छ । 

काठमाडौँ टोखा नगरपालिका–३ ढलमलस्थित घरको सिँढीमा सुतिरहेको अवस्थामा गएराति करिब १२:३० बजे आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मृत्तकको पहिचान र आगलागीका कारण नखुलेको तथा यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी, काठमाडौँ महानगरपालिका– २९ मैतिदेवीस्थित सविना महर्जनको कपडा पसलमा आगलागी हुँदा करीब रु २० लाखको धनमाल क्षति भएको जनाइएको छ । 

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ 

काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् । 

काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ । 

त्यस्तै, काठमाडौँ महानगरपालिका– ३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने काभ्रेका राजाराम दनुवारलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!