मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

Posted on: 10 Dec, 2018

मङ्सिर २४, तनहुँ | तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् । 

कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिनुभयो । 

कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै आउने गरेको उहाँले बताउनुभयो । उनीहरुले बुनेका मुढा तनहुँ, पोखरा, बागलङ, गोरखा, लमजुङ, चितवन लगायत बजार क्षेत्रमा बिक्री वितरण हुने गरेको छ । कारागार प्रशासन कार्यालयले मुढा बुन्न आवश्यक पर्ने बाँस, धागोलगायत कच्चा पदार्थ जुटाउन र उत्पादित मुढा बिक्री वितरण गर्न सहज वातावरण बनाइदिएको हो । 

पच्चीस जना क्षमता रहेको उक्त कारागारमा अहिले १२५ कैन्दीबन्दी छन् । उनीहरूले मुढा बुनेर बिक्री गरी प्रतिव्यक्ति मासिक पाँच हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीका नाइके थापाले भन्नुभयो, “मुढा बुन्न नजान्ने केही व्यक्तिले भने नाम्लो बुनेर आम्दानी गर्दै आएका छन् ।” (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!