बैतडीमा ओखर बगैँचा स्थापना हुँदै

Posted on: 10 Dec, 2018

मङ्सिर २४, बैतडी | फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । 

बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ । बगैँचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन कार्यालयले आग्रह गरेको छ । 

बैतडीको सुर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाका–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौँडी नगरपालिकामा बगैंँचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भएको छ । 

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिका–२,४ र ८, ब्याँस गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैँचा स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ । ओखरखेती गर्ने किसानले पुस १० गतेभित्र कृषि ज्ञान केन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ । अत्यधिक माग भएकाले ओखरबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि बगैँचा स्थापना गर्ने कार्यक्रम ल्याइएको हो । बजारमा ओखर प्रतिकिलो रु ६ सयदेखि रु ८०० मा विक्रि हुने गरेको छ । 

यसैबीच पछिल्लो केही वर्षयतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछि त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानले पर्याप्त आम्दानी गर्न सक्ने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । (रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!