पानी बेचेरै लाखौँ कमाई

Posted on: 10 Dec, 2018

कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

  पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर पानी रसिद कटाएर असोज देखि नै घरघरमा उपलव्ध गराउँदै आएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा कृषि उपज, वन पैदावर र करपछि पानी देखिएको छ । तर गाउँपालिकाले भने पानी वितरण गरेर भएको आम्दानीले डिजेलको मूल्य तिर्न, ट्याङ्कर र ट्रयाक्टर मर्मत गर्नसँगै चालकलाई तलब दिन पुग नपुग हुने गरेको जनाएको छ । अल्पकालीन रुपमा भाडा तिर्ने गरी अर्को एउटा ट्याक्टर लिने सोचमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराईले वताउनुभयो । अघिल्लो वर्षभन्दा पनि यसवर्ष पानीको मुहान थुप्रै सुकेकाले गाउँपालिकाको कार्यालयमा पानीको माग गर्दै रसिद कटाउनेहरुको भीड बढेकोले ट्याक्टर भाडामै भएपनि लिन आवश्यक देखिएको उहाँले वताउनुभयो ।

   गाउँपालिकामा एकैदिन १ लाख ५० हजार लिटरसम्म पानीको माग आउने गरेको जनाएको छ । तर गाउँपालिकाले प्रति दिन २० हजार लिटरसम्म पानी उपलव्ध गराउँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!