नुवाकोटका दुई युवक पाटेबाघको छालासहित काठमाडौंबाट पक्राउ

Posted on: 12 Dec, 2018

मङ्सिर २६, काठमाडौँ | प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडाँै महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न सिरहाको सुखीपुर नगरपालिका–६ घर भई हाल कामपा–३१ देउराली क्लबमा बस्ने वर्ष १८ का किशोर यादवलाई नियन्त्रणमा लिएको छ । निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजका आधारमा यादवलाई उक्त बैंक रहेको भवनमा बसिरहेको अवस्थामा फलामको रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसैगरी कामपा वडा नं ३२ सुविधानगरस्थित एक घरमा कोही नभएको मौका पारी गरगहना तथा नगद चोरी गर्ने मकवानपुरको पौरही गाविस–७ का १८ वर्षीय नवीन विकलाई चोरी गरेको धनमालसहित नियन्त्रणमा लिएको छ । निजको साथबाट रु सात हजार ५००, सुनको सिक्री एक थान, मङ्गलसुत्र दुुई थान, ल्यापटप र मोबाइल एक÷एक थान र घर फोर्न प्रयोग गरेको औजारसहित बरामद गरेको प्रहरीले जनाएको छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!