रोल्पामा प्रहरी सचेतनाले आत्महत्या गर्नेको सङ्ख्या घट्यो

Posted on: 12 Dec, 2018

मङ्सिर २६, रोल्पा | रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । 

जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ जनाले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । 

आत्महत्या जिल्लाको मुख्य समस्या भएकाले यसको न्यूनीकरणमा विभिन्न अभियान सञ्चालन गरिँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले बताउनुभयो । जनचेतनामूलक कार्यक्रम, रेडियो कार्यक्रम तथा पम्प्लेट वितरण जस्ता कार्यक्रम जिल्लाव्यापी विस्तार गरेका छांै पन्थीले भन्नुभयो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, टोल र वडा वडामा जनचेतनामूलक कार्यक्रमलाई सघन ढङ्गले अघि बढाइएकाले आगामी वर्ष आत्महत्या गर्नेको मात्रा अझै घट्ने विश्वास गरिएको छ । 

यसरी आत्महत्या गर्नेमध्ये अधिकांश १६ देखि २४ वर्ष उमेर समूहका भएको बताइएको छ । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या धेरै भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रेममा धोका खाएको, पर पुरुषसँगको शारीरिक सम्बन्ध जस्ता कारणले झुण्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!