सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन: मुख्यमन्त्री पोखरेल

Posted on: 12 Dec, 2018

मङ्सिर २६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । 

प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो । “राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन” उहाँले भन्नुभयो, “मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ ।” 

उहाँले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गर्नुभयो । 

उहाँले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताउनुभयो । 

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उहाँले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको बताउनुभयो । 

कार्यक्रममा प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीले कानून कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा अधिवक्ताद्वय मोहनलाल बज्राचार्य र तेजप्रसाद कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!