बैतडीमा मुख्यमन्त्रीले भने - ‘जनताको आवश्यकतामा विकास निर्माण’

Posted on: 15 Dec, 2018

बैतडी, २९ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवश्यकतालाई आधार मानी विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ शाखा बैतडी र रेडियो सेभेनस्टारले आज खोडपेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले देश सङ्घीयताको नयाँ अभ्यासमा रहेकाले विकासको गतिमा केही ढिलाई भएपनि जनताका अपेक्षा पूरा हुने जानकारी गराउनुभयो । “पहिलो नौ महीना सिकाइमै बितेकाले अब सबै क्षेत्रको विकास हुन्छन्,” उहाँले भन्नुभयो, “कर्मचारी तथा कानूनको अभावमा सबै काम गर्न सकिएन, चालू आर्थिक वर्षदेखि सबैको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौं ।” 

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषि, जलस्रोत, पर्यटन, तथा जडीबुटीको थुप्रै सम्भावना रहेकाले समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस प्रदेशको वेरोजगारी समस्यालाई सम्बोधन गर्न प्रदेश सरकारले युवालाई सहुलियत ऋण दिने कार्यक्रम ल्याउने छ ।” 

यसैबीच पाटन नगरपालिका–९ स्थित विजयपुरस्थित ज्ञानेश्वर माविको ४४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आजै उहाँले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक स्वयं आफूले जागरुक हुन आग्रह गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!