पानीको स्रोतको खोजी शुरु

Posted on: 21 Dec, 2018

 पुस ६, ललितपुर (रासस) | वर्षौदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ । 

खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताउनुभयो । अल्पकालीन योजनामा विभिन्न स्थानमा डिप बोरिङ र आकाशे पानी सङ्कलन गरेर पानी निकाल्न लागिएको छ । 

दीर्घकालीन योजनामा दोस्रो चरणको मेलम्चीका लागि सरकारसँग अनुरोध भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले धेरै नगरवासीले खानेपानीको समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।” 

नगरपालिकाभित्रै पर्ने सिंहऋषि मुहानमा रहेको पानीको स्रोतको विस्तृत परियोजना अध्ययन (डिपिआर) भइसकेको नगरपालिकाले जनाएको छ । लाँकुरीभञ्ज्याङमा रहेको स्रोतका लागि प्रदेश र सङ्घ दुबैले बजेट विनियोजन गरेका छन् । 

नगरपालिकाले ग्वालिन दह र चापाखर्कमा रहेका पानीको स्रोत सुधारका लागि बजेट छुट्टाएको छ । उहाँले भन्नुभयो, “नगरवासीको अपेक्षाअनुसार हामीले नगरपालिकाबाट गर्ने काममा खानेपानीलाई बढी जोड दिएका छौँ ।” 

महालक्ष्मी नगरपालिकाका धेरै वडामा खानेपानीको समस्या छ । नगरपालिकाभित्र भएका स्रोत पर्याप्त नभएको र भएका स्रोत समेत सुधार गर्नुपर्ने अवस्थामा भएकाले नगरवासीले खानेपानी अभाव झेल्दै आएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!