लाइसेन्स लिएको दशक बित्यो, प्रगति शून्य

Posted on: 22 Dec, 2018

पुस ७, सुर्खेत | इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ । 

पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझै आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारी आयोजना स्थलमा छैनन् । 

गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले २०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन थालेको थियो । कम्पनीले कामअघि नबढाएर पटक÷पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोशित छन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरीद बिक्री रोकेको गुनासो पोख्नुभयो । 

‘‘अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोक्यौँ’’ उहाँले भन्नुभयो, “छनोट गरेको दुई वर्ष बितिसक्यो ।” चुनढुङ्गा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले खानी ओगटेर राखेको आरोप लगाउँछन् । अर्का स्थानीयवासी कर्णबहादुर बयकले कानूनी आधार देखाएर कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको बताउनुभयो । 

कम्पनीले विद्युत्को समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालनका लागि करीब १४ मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहु“च र विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको बताउनुभयो । 

‘‘कम्पनीले आफ्नै लगानीमा सडक बनायो,’’ उहाँले भन्नुभयो, “सडक त बनायौँ, विद्युत् त हाम्रो सार्मथ्यमा छैन् ।” पछिल्ला दुईवर्ष खानी विभागले लाइसेन्स नवीकरण नगर्दा झन् ढिलाइ हुन पुगेको कम्पनीको स्वीकारोक्ति छ । लाइसेन्स नवीकरण नगर्दा अदालत गुर्हानु परेको परियोजना संयोजक अधिकारीको भनाइ छ । 

पाटन उच्च अदालतको आदेशपछि खानी विभागले मुक्तिश्रीको लाइसेन्स नवीकरण गरेको थियो । ‘‘विद्युत्को समस्या छदै थियो, खानी विभागले लाइसेन्स नवीकरण नगर्दा अदालत जानुप¥यो’’ उहाँले भन्नुभयो, “सम्झौताको एक दशकसम्म ‘प्रगति’ शून्य देखिएपछि विभागले लाइसेन्स रद्द गरेको थियो । कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या दर्शाउ“दै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो ।” 

खानी क्षेत्र चौकुने गाउ“पालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउ“, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेछ । 

कम्पनीले जग्गा भाडामा लिने आवश्वासन दिए पनि प्रक्रिया अघि बढाएको छैन् । खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहा“को चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । 

कारखानाका सञ्चालनका लागि करीब रु आठ अर्ब लागत अनुमान छ । मुक्तिश्रीले दैनिक एक हजार ५०० देखि पा“च हजार टन सिमेन्ट गर्ने लक्ष्य लिएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!