भीमदत्तमा दिशाजन्य फोहर व्यवस्थापन परियोजना सञ्चालनका लागि समभदारी पत्रमा हस्ताक्षर

Posted on: 23 Dec, 2018

पुष ८, महेन्द्रनगर | भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारी पत्र( एमओयु) मा हस्ताक्षर भएको छ ।

भीमदत्त नगरपालिका कार्यालयमा आइतबार भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष एवम् काठमार्डौं महानगरपालिकाका नगर उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओड, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा लगायतका सहभागी भएका छन् ।

वातावरण तथा जनसंख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका ५ नगरपालिकाकामध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका सहित धुलीखेल, लमही, वालिङ्ग र लाहान परियोजना सञ्चालनका लागि छनौट गरिएका छन् । यो परियोजना नेपाल बाहेक बंगलादेशमा सञ्चालनमा छ । 

समझदारी पत्रमा हस्ताक्षरपछि नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष खड्कीले परियोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका छनौट भएकोमा धन्यवाद दिदैं परियोजना नमूना बनाउन सुझाव दिइन् ।

‘नगरपालिका संघबाट धेरै कार्य गरी अघि बढ्न सक्छौ भन्ने यो परियोजनाले देखाएको छ, अहिले एउटामा प्रवेश गरी त्यसलाई नमूनाका रुपमा विकास गरी अर्काेमा प्रवेश गर्न चाहन्छौ’ उनले भनिन्,‘यसो भए विकास हुन समय लाग्दैन, त्यसका लागि समन्वय कमी छ, अब त्यसलाई बढाएर जानु पर्छ ।’

भीमदत्त नगरपालिकासित गरिएको समझदारी र विकास अरु स्थानीय तहका लागि समेत अनुकरणीय बन्ने उल्लेख गर्दै उनले सहकार्य र समन्वयका आधारमा अघि बढ्नु पर्नेमा जोड दिइन् ।

काठमाडौंै महानगरपालिकामा जनसंख्याको चापका कारण व्यवस्थित गर्न नसकिएकाले भवन निर्माण गर्दा नक्सापास गर्दा नै घरभित्र सेफ्टी टयाङ्की राख्नु पर्ने विषयमा छलफल अघि बढेको उनको भनाई छ ।


स्थानीय तह निर्वाचनमा चुनाव प्रचार गरिए जसरी सिहदरबारको अधिकार गाउँ घरमा पुग्न नसकेकोले सडक, ढल, खानेपानी, विद्युत लगायतको अधिकार स्थानीय तहमा आउनु पर्ने सह कोषाध्यक्ष खड्कीले बताइन् ।

धनगढी उप महानगरपालिकाका नगर प्रमुख ओडले स्थानीय सरकारले फोहरमैला व्यवस्थापनको सबैभन्दा ठूलो समस्या भएकाले परियोजनाले भीमदत्त नगरपालिकालाई दिशाजन्य फोहर व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

‘स्थानीय सरकारलाई फोहर व्यवस्थापनको सबैभन्दा ठूलो समस्या छ, बिल गेटस संस्थाले जनताको आवश्यकता आधारमा योजना बनाएर सञ्चालनमा ल्याएको छ,’ नगर उप प्रमुख ओडले भने,‘भीनपा छनौट भएकोमा धन्यवाद दिन चाहन्छौ ।’

सुदूरपश्चिम सरकारको भीमदत्त र धनगढी उप महानगरपालिकालाई हेर्ने दृष्टिकोण समान भएकाले दुबै नगरपालिकाले सोच विचारका साथ कार्यक्रम बनाउनु पर्ने अवस्था रहेको बताए ।

समान भएकाले दुबै नगरपालिकाले सोच विचारका साथ कार्यक्रम बनाउनु पर्ने अवस्था रहेको बताए ।

‘यी दुई तहलाई प्रदेश सरकारले हेर्ने दृष्टिकोण समान छ, यी दुई तहले गर्ने कार्य अरु तहका लागि सिकाई बन्न सक्छन्’ उनले भने,‘त्यसैले हरेक योजना सोचेर विचार गरेर अघि बढ्नु पर्ने आवश्यकता छ ।’

भीमदत्त र धनगढीको विकास सुदूरपश्चिम प्रदेशका ८८ तहका लागि फलदायी हुने नगर प्रमुख ओडले बताए ।

‘भीमदत्तका नगरपालिकासित सहकार्य र समन्वय गरी अघि बढेका छौ, आगामी दिनमा यसलाई निरन्तरता दिएर जान्छौ’ उनले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले परियोजनालाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दै समृद्ध नगर बनाउन सहकार्य र समन्वयलाई प्राथमिकता दिएको बताए ।

भीमदत्त नगरपालिका त्रिदेशीय नाकाका रुपमा रहेको उल्लेख गर्दैै नगर प्रमुख विष्टले भीमदत्तको विकास र समृद्धि सुदूरपश्चिमको समृद्धिसित जोडिएको उल्लेख गरे ।

महाकाली नदीको बहु उपयोगका लागि छलफल अघि बढाएको उल्लेख गर्दै नगर प्रमुख विष्टले धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तरी क्षेत्रमा जैविक मार्ग निर्माण गरिएको बताए ।

‘भारतको राजधानी तीन सय ५० किलोमिटर मात्रै टाढा छ, योग पतञ्जलीको हरिद्वार नजिक छ, महाकाली नदीको बहु उपयोगको कुरा छ, शारदा ब्यारेज र टनकपुर ब्यारेजको विद्युत रोयल्टीको कुरा छ, यी सबै कुरा छन्, पश्चिमी नाका छ, त्रिदेशीय नाकाका रुपमा विकास गर्ने कुरा छ’ नगर प्रमुख विष्टले भने,‘सबैको साथ र सहयोगमा समृद्धिको नारा लिएर अघि बढेका छौ ।’

भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा मनाउन लागेको नगर प्रमुख विष्टले बताए ।

‘जैविक मार्गमा म्याराथुन मार्च गरिरहेका छौ, भ्रमण वर्ष सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा मनाइ रहेका छौ’ नगर प्रमुख विष्टले भने,‘काठमाडौैंको संस्कृति, इतिहासलाई पनि जोडर जान चाहन्छौ ।’

कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक देवकोटाले समझदारीको औचित्यबारे उल्लेख गर्दै वातावरणीय जोखिम न्यूनीकरणका लागि परियोजना लागू गरिएको बताए  ।

‘वातावरणीय हिसाबले कुनै पनि किसिमका जोखिम नहोस भनेर दिशाजन्य फोहर व्यवस्थापनका लागि परियोजना लागू गरिएको हो’ उनले भने,‘नगरपालिका एक्लैले मात्रै आफ्नो समस्या समाधान गर्न नसक्ने भएकाले सहकार्य गरिएको हो ।’

संघका कार्यकारी निर्देशक देवकोटाले नेपाल र बंगलादेशका ५÷५ नगरपालिकामा परियोजना सञ्चालन गरिएको बताए ।  नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि १० नगरपालिकाले प्रस्ताव पेश गरेका थिए ।

संघका इन्जिनियर मुस्कान श्रेष्ठले परियोजना सम्बन्धी जानकारी गराए । तीन वर्षसम्म सञ्चालन गरिने परियोजना अन्र्तगत फोहर व्यवस्थापनका लागि नीति निर्माण, योजना निर्माण, आर्थिक सहयोग सम्बन्धी कार्यक्रम समावेश गरिएका छन् । दिशाजन्य फोहरबाट जैविक इन्धन, निर्माण सामग्री, जैविक मल, किराहरुका लागि प्रोटिन बनाउन सकिने लगायतका कार्यमा प्रयोग गर्न सकिने इन्जिनियर श्रेष्ठले बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । उनले परियोजनाबाट भीमदत्त नगरपालिकाको ढल निकास समस्या समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा भीमदत्तका मेयर विष्टले संघका सह कोषाध्यक्ष खड्की सहित धनगढी उप महानगरपालिका मेयर ओड, कार्यकारी निर्देशक देवकोटालाई खादा ओढाएर सम्मान गरे । सहरी विकास शाखाका वातावरण अधिकृत पदमराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!