कालीकोटमा भीषण आगलागी, ८७ घर जलेर नष्ट, ७ जना घाइते

Posted on: 24 Dec, 2018

पुस ९, कालीकोट | कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्तीमा आगलागी भएको छ । आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । 

खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकाटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । 

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । 

यसैबीच आगलागीमा परी ७ स्थानीय घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।  आगलागीबाट १८ चौपाय मर्नुका साथै स्थानीय घरबिहीन बनेका छन। 

चिसोको समयमा स्थानीय खुल्ला चौरमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम मान्माबाट ५ घण्टाको पैदर दूरीमा पर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!