कुटपिट गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Posted on: 24 Dec, 2018

पुस ७, सन्धिखर्क | दुई साताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ।

सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवालको आफ्नै श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई पक्राउ गरेको हो । मृतक मिनाको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो।

कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्णबहादुर सेजवाललाई आइतबार राति पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

पहिलादेखि नै कुटपिट गर्दै आएको र कुटपिटबाटै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माइतीपक्षको माग छ।

दुई जनाबीच पहिलेदेखिनै पटक पटक झगडा हुँदै आएको र गाँउलेहरूले मेलमिलाप गराउने गरेको स्थानीयहरूले बताएका छन्। शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!