प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि अन्धाधुन्द छुरा प्रहार

Posted on: 24 Dec, 2018

पुस ९, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक किशोरी गम्भीर घाइते भएकी छन् ।

पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका-२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।


विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने जयकिशोर पक्राउ परिसकेका छन् । सकुन्तल जनता उच्च माविमा कक्षा ११ मा अध्ययनरत छिन् | छुरा प्रहारबाट उनको तिघ्रामा सात इन्च गहिरो घाउ हुनुका साथै नाक र ओठमा पनि चोट लागेको छ।

घाउबाट अत्याधिक रक्तश्राव भएर गम्भीर घाइते शकुन्तालाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ।

छुरा प्रहार गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीलाई दिएको बयानअनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको दावी जयकिशोरको छ ।

जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको उनको दावी छ ।

पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् । 

छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!