विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

Posted on: 25 Dec, 2018

पुस १०, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । 

प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा विष्टको राजीनामा समेत माग गर्नुभयो । “प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप नियुक्ति दिए”, उहाँले भन्नुभयो । प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यकपर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ । 

विभिन्न विद्यार्थी सङ्गठन आन्दोलनमा रहेका बेला प्राध्यापक सङ्घले उक्त विषयलाई लिएर सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संयोजक पाठकका अनुसार सङ्घका ८० प्राध्यापक आन्दोलनमा छन् । “विनासूचना, विनापरीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्ने काम भएको छ,” उहाँले भन्नुभयो । 

क्याम्पस प्रमुख डा विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासङ्गत ढङ्गबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!