तीन हजार रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलाशा, दुई पक्राउ

Posted on: 25 Dec, 2018

पुष १०, सर्लाही (रासस) | यहाँ एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

बरहथवा नगरपालिका–५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा प्रहरीले सोही वडाका ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका–८ शङ्करपुरका २६ वर्षीय रवीन्द्र महतोलाई इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

बीभत्स ढङ्गले टाउको क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा यही पुस ७ गते घरभन्दा एक किलोमिटरको दूरीमा सोतीखोला चोरनिया पुलनजीक शव फेला परेको थियो । महतोको जग्गा खरीद बिक्री गर्दा भएको नाफा बाँडफाँडको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीले खुलासा जनाएको छ । मृतक महतोको नातामा भिनाजु पर्र्ने सोही ठाउँका पक्राउ परेका धनेश्वरको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

हालसम्मको अनुसन्धानबाट धनेश्वरले रवीन्द्र र अर्का एक व्यक्तिको प्रयोग गरेर तीन हजार रुपैयाँ दिई हत्या गर्न लगाएको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । हत्यामा संलग्न अर्का व्यक्तिको पनि पहिचान भइसकेकाले खोजी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

जग्गाको कारोवारका साथै बागमती नगरपालिका–३ जिरायतमा निजी विद्यालयसमेत सञ्चालन गरेका महतोको उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको एक थान हतियार, एउटा मोटरसाइकल र रवीन्द्रले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडासमेत बरामद गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!