खड्गबहादुर बचाउ अभियानमा ५५ लाख सङ्कलन

Posted on: 27 Dec, 2018

पुस १२, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ । 

जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम सङ्कलन भइसकेको अभियानले जनाएको छ । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले रु एक लाख प्रदान गर्नुभएको छ । 

यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीका बारेमा भिडियो बनाई सहयोग सङ्कलन गरी रु १० लाख एकमुष्ट हस्तान्तरण गर्नुभएको अभियन्ता मित्र नेपालीले बताउनभयो । जोगी २०७० सालमा युएई गएका आफूसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । 

परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि उनले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्याउँदा साथीको मृत्यु भएको थियो । फिलिपिनी साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । खड्गबहादुरलाई अदालतले पाँच वर्ष कैद र रु दुई लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!