बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ मनाइँदै

Posted on: 30 Dec, 2018

पुष १५, बैतडी (रासस) | बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन छ । 

पण्डित दयाकृष्ण पन्तका अनुसार भन्नुहुन्छ, “रातभरि कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।” ‘पन्नरी रात’का रुपमा समेत मनाइने यस पर्वमा आज १५ किसिमका परिकार खाने गर्दछन् । 

तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेर भात खाने गरिन्छ । तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले यसबाट बच्न र शरीरसमेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेको तातो खानेकुरा खाने गरिएको पण्डित पन्त बताउनुहुन्छ । 

एक दिन भए पनि आज घर बाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपालमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन विस्तारै लम्बिदै जान्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!