शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने

Posted on: 31 Dec, 2018

 पुस १६, चितवन  (रासस) |  जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । 

शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । सो क्षेत्रमा केही साल सहित कूकाठ र झाडी रहेको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउनुभयो । सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने उहाँको भनाइ थियो । उद्योगले लिने जमीनमध्ये २५ प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने अनिवार्य गरिँदै छ । सो क्षेत्रमा रहेका कतिपय रुख रहनेछन् भने उद्योगको बीचबीचमा धेरै रुख रहेका ठाउँलाई सुरक्षित गरिँदै छ । बाटोको दुबैतर्फ वृक्षरोपण गरिने छ । दुवाडीले भन्नुभयो, “अहिले जति रुख छन् औद्योगिक क्षेत्र बनेपछि त्यो भन्दा धेरै रुख हुनेछन् ।” 

बाहिरबाट मानिसले आएर हेर्न योग्य हुनेगरी हरियाली औद्योगिक क्षेत्र बनाउन सरकारी र निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो । देशकै ठूलो औद्योगिक क्षेत्र बनाउन लागिएको उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम सकिएर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम चलिरहेको छ । ईआइएको काम सकिएर औद्योगिक क्षेत्रको निर्माणको काम शुरु हुन अझै छ महीना लाग्ने दुवाडीले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा बिजुली, पानी, सडक, ढलसँगै आवास, डिपार्टमेन्टल स्टोर, बैंक, होटल लगायतका सुविधासमेत हुनेछन् । शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणाअनुरुप प्रदेश नं ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । 

औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग सङ्घले निर्माणको अगुवाइ गरिरहेको छ । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्दछ । 

जिल्लामा छरिएर उद्योग रहे पनि व्यवस्थित औद्योगिक क्षेत्र नहुँदा समस्या हुँदै आएको छ । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई पनि ठाउँको अभाव छ । पछिल्ला वर्षमा जग्गाको मूल्य आकासिएपछि उद्योग सञ्चालन गर्न चाहेकाले औद्योगिक क्षेत्रको पर्खाइमा रहेका छन् । सो क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेले फाराम भरेर उद्योग सङ्घमा बुझाइसकेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!