सिन्धुपाल्चोकमा राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय जलवायु सम्मेलन २०७५ को उद्घाटन

Posted on: 31 Dec, 2018

 पुस १६, सिन्धुपाल्चोक (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । 

जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो । 

उहाँले जलवायु परिवर्तनबाट सिर्जित समस्याको बारेमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रष्ट बोलिसकेको भन्दै प्राकृतिक सम्पदा उपयोग गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं–३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योगमन्त्री अरुण नेपाल, पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाका दरले सहभागी रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!