नवलपरासीको गैँडाकोट मन्दिर मौलाकालिकामा युवाको आकर्षण

Posted on: 31 Dec, 2018

 पुस १६, चितवन (रासस) | मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् । 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार मन्दिरमा दर्शन गर्न आउनेमा ७० प्रतिशत युवापुस्ता रहेका र तीमध्ये पनि स्कूल–कलेजका विद्यार्थी नै बढी देखिन्छन् । एक वर्षमा तीन लाख हाराहारी भक्तजन मन्दिरमा पुग्ने गरेकामा ६५ प्रतिशत महिला हुने गरेको पनि उहाँले बताउनुभयो । 

शनिबार र मङ्गलबार ठूलो सङ्ख्यामा भक्तजन पुग्ने उक्त मन्दिरमा नयाँ वर्षका पहिलो दिन ५० हजार हाराहारी भक्तजन आउने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । 

जङ्गलको बीच भागमा रहेको उक्त मन्दिर पुग्न एक हजार ८०० सिँढी चढ्नुपर्छ । सिँढीका आसपासमा शौचालय, खानेपानी र चौतारीको व्यवस्था गरिएको छ । 

झण्डै ४५ मिनेटको उकालो हिँडेपछि मन्दिर पुगिन्छ । चितवन, नवलपरासी र तनहुँको सङ्गममा धराहरा जस्तै रहेको उक्त मन्दिरबाट ती जिल्लाका अधिकांश भाग अवलोकन गर्न सकिन्छ । समितिका सदस्य भूमिश्वर शर्माले यहाँ आन्तरिक पर्यटकको बढी भिड लाग्ने गरेको बताउनुभयो । 

मन्दिरको फेदीमा वनभोजका लागि व्यवस्थित स्थल छ । हिउँदको समयमा वनभोजका लागि आउने विभिन्न समूह पनि मन्दिरसम्म पुग्ने गरेको उहाँको भनाइ थियो । 

मन्दिर परिसरबाट देवघाट धामसँगै पर्वतीय शृङ्खला, डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै नारायणी नदी, नवलपरासीको गैँडाकोट र चितवनका पर्यटकीय स्थल देख्न सकिन्छ । 

समितिका प्रमुख सल्लाहकार पूर्वप्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले देवी दर्शन तथा प्राकृतिक दृश्यको रसास्वादन पनि गर्न पाइने भएकाले युवाको आकर्षण बढेको बताउनुभयो । 

समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले हिन्दू धर्मको रक्षाका लागि अहिले युवापुस्ता लागिपरेका छन् भन्नुभयो । उकालो र ओरालो हिँड्न रमाउनेहरूको पनि यहाँ भिड लाग्ने गरेको पनि उहाँले बताउनुभयो । 

पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शीला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएकाले विसं २०३२ देखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा झण्डै रु २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ । सो ठाउँमा पुग्नका लागि निजी क्षेत्रबाट केबलकारसमेत जडान गर्ने तयारी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!