फरार प्रतिवादी २० वर्षपछि पक्राउ

Posted on: 31 Dec, 2018

पुस १६, दमौली | करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भानु नगरपालिका–११ रुपाकोटका बमबहादुर भुजेल रहेका छन् । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत भुजेललाई आज रुपाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

विसं २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई करणी गरेको आरोपमा भुजेल फरार रहेका थिए । अदालतले भुजेललाई दोषी ठहर गरी एक वर्ष चार महिना २९ दिन कैद सजायको फैसला गरेको थियो । भुजेललाई फैसला कार्यान्वयनका लागि आजै कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

यसैगरी नकबजनी, चोरी र लागुऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकबजनी र चोरी मुद्दाका व्यास नगरपालिका–२ का बबिन शाक्य र लागुऔषध मुद्दाका सोही ठाउँका प्रदीप गोदार रहेका प्रहरीले जनाएको छ । अदालतले शाक्यलाई १३ दिन कैद तथा रु एक लाख ४३ हजार २७२ जरिवाना र गोदारलाई ६ महिना १६ दिन कैद तथा रु एक लाख जरिवानाको फैसला सुनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!