आजदेखि इस्वी सन् २०१९ शुरु: एकापसमा शुभकामना आदान प्रदान गरि मनाइदै

Posted on: 01 Jan, 2019

पुष १७, काठमाडौँ (रासस) | ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ । 

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । 

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले राससलाई जानकारी दिनुभयो । 

सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी छ । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । 

तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । 

इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताउनुभयो । नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा आज विशेष रुपमा यो पर्व मनाइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!